एक वर्षमै डेढ अर्बको अदुवा विक्रि
ajakoartha.com · Fri Jul 24 07:48:00 GMT 2026

काठमाडौं - नेपालमा उत्पादित अदुवाको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेसँगै अदुवाको बिक्रिमा व्यापक वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ । अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष अदुवा निर्यात परिमाण र आम्दानी दुवैमा उच्च वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आव कुल ५८ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको अदुवा निर्यात भएकोमा गत आव २०८२/८३ मा भने त्यो आँकडा ह्वात्तै बढेर १ अर्ब ५० करोड २० लाख ७३ हजार रुपैयाँ बराबर पुगेको छ ।
नेपालबाट मुख्यतया ताजा अदुवा, सुठो र धुलो (कुटिएको) गरी तीन प्रकारका निर्यात हुने गरेको छ । आव २०८२/८३ को तथ्यांक हेर्दा सबैभन्दा धेरै ताजा अदुवा निर्यात भएको छ । यस अवधिमा १ करोड ६० लाख १६ हजार ७ सय ४५ किलो ताजा अदुवा निर्यात भएको छ, यसबाट १ अर्ब २ करोड ६९ लाख २ हजार रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी ७ लाख ३५ हजार ६ सय १३ किलो सुठो निर्यात हुँदा ३७ करोड ५१ लाख ८८ हजार भित्रिएको छ भने ५ लाख १ हजार ६ सय ४२ किलो कुटिएको वा धुलो अदुवा निर्यातबाट ९ करोड ९९ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)