मस्तिष्क ऐजेरुको उपचार
gorkhapatraonline.com · Sun Aug 30 02:24:43 GMT 2026

मस्तिष्कमा ऐजेरु पलाएको अवस्थालाई अङ्ग्रेजीमा ब्रेन ट्युमर भनिन्छ । क्यान्सरयुक्त र क्यान्सरविहीन गरी बे्रन ट्युमरलाई दुई भागमा वर्गीकरण गरिएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यो रोग बढ्ने क्रम तीव्र रहेको जानकारीमा आएको छ । नसर्ने रोगहरूको सूचीमा पर्ने यो रोगको निराकरण केही समयपहिलेसम्म टाउकाको जटिल शल्यक्रियाबाट मात्र हुने गथ्र्याे । क्यान्सरसहितको मस्तिष्कमा पलाएको ऐजेरुको उपचार शल्यक्रियापछि रेडियोथेरापी, केमोथेरापीको प्रविधि अपनाएर गर्न सकिन्छ भने क्यान्सरविहीन मस्तिष्कको ऐजेरुलाई गामानाइफ रेडियो शल्यक्रियाद्वारा औजार प्रयोग नगरीकनै सजिलै हटाउन सकिन्छ । यो प्रविधि छिमेकी मुलुकहरूमा सञ्चालनमा रहँदा नेपालमा भित्रिएको छैन । यसमा राज्यपक्षले चासो राखेको देखिँदैन भने निजीस्तर पनि बेखबर देखिन्छ । अत्याधुनिक चिकित्साको अधिकतम सदुपयोग गरेर दीर्घ जीवनयापन गर्न पाउनु मानव अधिकारको अभिन्न अङ्ग हो । नेपालले अझै गामानाइफ रेडियो शल्यक्रियालगायत अन्य अत्याधुनिक चिकित्सा पद्धति भित्र्याउन सकेको छैन ।
कुनै किसिमको औजार प्रयोग नगरीकन रेडियो विकिरणका माध्यमद्वारा गरिने मस्तिष्कमा पलाएको ऐजेरुको शल्यक्रिया अति उच्च, भरपर्दो र हानिरहित भएको कुरा विज्ञहरू बताउँछन् । कोबाल्ट–६० नाम गरिएको विकिरण एकैसाथ पठाएर क्यान्सरविहीन मस्तिष्को ऐजेरु हटाउने उपचार विधि नेपालमा उपलब्ध छैन । जुन ठाउँमा ऐजेरु पलाएको छ त्यही ठाउँलाई मात्र लक्षित गरेर पठाइने रेडियो विकिरणले आसपासका स्वास्थ्य कोषिकालाई हानि नपुर्याउने कुरा चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ । बिरामीलाई बेहोस पार्नु नपर्ने विकिरणद्वारा गरिने यो प्रविधि खतराममुक्त र शतप्रतिशत सफल विधि हो । प्रतिनिधि उदाहरणका रूपमा लिनु पर्दा यस पङ्क्तिकारका भोगाइ र अनुभवलाई लिँदा पर्याप्त हुन्छ । मेरा नजिकको आफन्तलाई करिब डेढ वर्षअघि मस्तिष्कको दाइने भागमा क्यान्सरविहीन ऐजेरु पलाएर मरणासन्न अवस्था सिर्जना भएको थियो । काठमाडाैँ उपत्यकाका धेरै वरिष्ठ चिकित्सक, स्नायु शल्य चिकित्सकहरूको रायसल्लाह अनुसार उपचार गराइयो । बाँसबारीस्थित न्युरो अस्पतालमा धेरै पटक बहिरङ्ग र अन्तरङ्ग सेवा लिइयो र पनि बिरामीको स्थिति सुधार हुनुभन्दा झन् झन् नाजुक हुँदै गयो । अन्त्यमा केही नलागेर बबरमहलआसपासको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगियो । अस्पताल पुर्याएकै क्षण त्यहाँ कार्यरत नाम चलेका वरिष्ठ स्नायु शल्य चिकित्सकले मस्तिष्कमा गम्भीर असर परेको छ, शल्यक्रिया गर्नु पर्छ भन्नुभयो । दिमाग खोलेर गरिने सन्ट प्रविधिको शल्यक्रियाबाहेक अर्को विकल्प नभएकाले चाँडोभन्दा चाँडो शल्यक्रियाका लागि तयार हुन उर्दी जारी भयो । आर्थिक शाखामा गएर आवश्यक नगद जम्मा गरेर आउन ताकिता गरियो । पैसाको मामलाभन्दा पनि ७० वसन्त पार गरिसकेको वयोवृद्ध मानिसमा मस्तिष्कको जटिल शल्यक्रियापछि के होला भन्ने चिन्ताले मलाई धेरै सतायो । म एकाएक किंकर्तव्यविमूढ भए, मेरो होसहवासले ठाउँ छाड्यो । म आफू स्वयम् चिकित्सातर्फ धेरै वर्ष सरकारी सेवामा अनुभव बटुलेको मान्छे भएकाले जटिल परिस्थितिमा सम्भव भएसम्म विकल्प खोज्नु पर्छ भन्ने मान्यता राख्छु । यसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जका स्नायु शल्य चिकित्सक डा. गोपाल सेढाईसँग सल्लाह लिन पुगे । मेरो बिरामीका लागि सन्ट प्रविधि अपनाउनुभन्दा गामानाइफ रेडियो सर्जरी प्रभावकारी हुने सुझाव पाएँ, खुसी लाग्यो । यो सेवा नेपालमा उपलब्ध नभएकाले नयाँ दिल्लीस्थित एम्स अस्पतालमा जाने सल्लाह पाएबमोजिम बिरामी लिएर त्यहाँ पुगेँ । जवाहारलाल नेहरूको कार्यकालमा सन् १९५४ मा सुरु भएको अखिल भारतीय चिकित्सा विज्ञान (एम्स) अस्पतालपरिसर पुगेर हेर्दा अर्कै संसारमा पुगे जस्तो लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)