जलवायु परिवर्तनको असर
gorkhapatraonline.com · Sun Aug 30 02:35:46 GMT 2026

भदौ १० गते (२०८३) युगौँ बिर्सन नसक्ने दिन बन्न गयो । बिहानको ८.३० समयमा नेपालको बिहानी खाना तयार हुँदै गर्छ । विद्यालय तथा कार्यालय जानेका निम्ति खाना खानेबेला पनि हो । भोटेकोशी नदी बिहान आफ्नै सुरमा बगिरहेको थियो । महिना भदौ भए पनि बर्सात थिएन । रसुवा र नुवाकोटका नदीवरपरका बासिन्दा आफ्नै दिनचर्यामा थिए । बिहान ८.४० तिर बाढीको सूचना आयो । सम्बद्ध निकायले यो सूचना प्रवाह गरे तर कति पो ठुलो बाढी आउला र भन्ने धेरैमा रह्यो । क्षणभरमै बाढीले भनायक रूप लिँदै रसुवा पस्यो । यो भीषण हिमबाढी भएका पुष्टि भएको छ । हिउँ प्रलय भएर माटो, ढुङ्गा र गेग्य्रान बहाबले विद्रुप लिएको रहेछ । जलवायु परिवर्तनको असरप्रति संसारका वैज्ञानिकले बर्सौंदेखि हिन्दुकुश क्षेत्रको हिमाली क्षेत्र संवदेनशील छ भन्दै आएको तथ्यले कठोर पुस्ट्याइँ दियो । हिन्दकुश क्षेत्रका अनेकौँ हिमताल फुट्ने खतराप्रति अझ संवदेनशील हुनुपर्ने अवस्था आयो । प्रारम्भिक जानकारी अनुसार लाङटाङ हिमालको उत्तरी क्षेत्रमा रहेको हिमनदी अर्थात् ह्याड्लिङ ग्लेसियर बज्रिनु बाढीको उद्भव थियो । हिउँसँगै चट्टानको विशाल हिस्सा करिब पाँच हजार मिटरको उचाइबाट एकै पटक तीव्रत्तर गतिमा खस्यो । त्यसले कम्पन उत्पन्न गर्यो । भूकम्पकै अनुभव हुने गरी वरपरको भूसतह हल्लायो ।
यो विनाशलाई अन्तर्राष्ट्रिय समाचार माध्यमले सामान्य बाढी मात्र भन्न नहुने दृष्टिकोण दिएका छन् । समुद्रवरपर सुनामी आउँथ्यो । यो परिघटना पनि हिमसुनामी जस्तै भएको संसारका मिडियाले औँल्याएका छन् । लेदो माटोसँगै आएको सुनामी जस्तै आँधीबाढी गतिको तीव्रता अमापनीय रह्यो । उत्पन्न कम्पन र विनाश क्षणिक महाप्रलय जस्तो भयो । सीमावर्ती ल्हेन्देखोला हुँदै भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रलाई रसुवा, नुवाकोटदेखि तल्लो तटीय क्षेत्रमा भएको विशाल जनधनको क्षतिको सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने छ । यो महाविपत् जलवायु परिवर्तनकै असर भन्नेमा संसारको फरक मत रहेन । औद्योगिक युग सुरु भएको यताका दुई सय वर्षमा प्राकृतिक दोहनबाट कार्बन उत्सर्जनले पृथ्वीको तापमान बढायो । यसको सबैभन्दा तीव्रत्तर प्रतिकूल असर नेपाल जस्ता हिमाली मुलुकमा पर्न थालेको छ । सीमित विकसित मुलुक प्राकृतिक दोहनबाट समृद्धिको शिखरमा पुगे । नेपाल जस्ता मुलुकको कार्बन उत्सर्जनमा दुष्कृतीजन्य योगदान छैन तर पीडा बर्सेनि भोग्दै छ । भोटेकोशीको भदौ १० गतेको हिम बाढी पछिल्लो जलवायु परिवर्तनको असरको पीडादायी घटना संसारसामु ज्वलन्त छ । यो नेपालको मात्र नभई संसारलाई अब जलवायु न्यायका निम्ति अगाडि बढ्नै पर्ने ताजा पाठ हो । जलवायु परिवर्तनको तीव्रत्तर असर परिरहेको हिन्दुकुश क्षेत्रलाई पृथ्वीको तेस्रो धु्रव पनि भनिन्छ । यो एसियाका करोडौँ मानिसको जीवनदायनी मात्र नभई पृथ्वीकै पर्याचक्रको मूलाधार हो । मानव सभ्यताको आधारसमेत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)