पाँच वर्षमा पनि बनेन पुल
gorkhapatraonline.com · Sun Aug 30 04:06:01 GMT 2026

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ बख्फर र वडा नं. ४ हाक्पारा जोड्ने मरिणखोलाको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पूरा भएको छैन । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि पुलको म्याद चार पटक थपिए पनि निर्माण कार्यले गति लिन सकेको छैन । हालसम्म ४५ प्रतिशत काम मात्र भएको छ ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका अनुसार सङ्घीय सरकारको सहयोगमा १९ करोड २४ लाख रुपियाँ लागतमा पुल निर्माणका लागि २०७८ असारमा हिमदोङ एन्ड थोकर–इम्यानुयल सारस जेभीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार १८ महिनाभित्र अर्थात् २०७९ पुससम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । सम्झौता अवधि सकिएको लामो समय बितिसक्दा पनि पुलको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित रहेको कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले बताउनुभयो । पछिल्लो पटक थपिएको म्याद २०८३ फागुनसम्म रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालको प्रगतिले तोकिएको समयमा काम सकिने अवस्था नदेखिएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)