सचिवको निर्णयमा सल्लाहकारको हस्तक्षेप, सरकारको कार्यशैलीले सन्त्रासमा कर्मचारी प्रशासन
kendrabindu.com · Sun Jul 26 04:12:23 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमनराज अर्याललाई २५ असारमा प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले बिदाइ गरे। यसअघि तत्कालीन प्रधानमन्त्रीले मुख्य सचिवलाई बिदाइ गर्ने अभ्यास रहेकामा तीन महिनाभन्दा बढी प्रधानमन्त्री वालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक बिदाइले कर्मचारीवृत्तमा चर्चा त पायो, तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन्। किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकाले कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्र लिए।
त्यसो त प्रधानमन्त्री शाहले नियुक्त भएको पहिलो दिन सचिवहरूलाई दिएको निर्देशनबाटै कर्मचारीवृत्त झस्किएको थियो। ‘अहिलेसम्म तपाईंहरूले जनताका प्रतिनिधिको हितमा काम गर्नुभयो, जनताको हितमा गर्नुभएन, अब त्यस्तो नहोस्,’ १३ चैतमा शपथलगत्तै उनले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए, ‘तपाईंहरू लोक सेवा पास गरेर आउनुभएको छ, अहिलेका मन्त्रीहरू पनि पढेलेखेका छन्, तपाईंहरूले हामीलाई नसिकाउनुहोला।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले थप भने, ‘ऐन, कानुन देखाएर कामबाट पन्छिने र त्यही भनेर मन्त्रीलाई पढाउने काम नगर्नुहोला।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)