चक्रपथको चप्पल कारखाना-धोबीखोला खण्डमा ठेक्का आह्वान
kendrabindu.com · Sun Jul 26 04:58:09 GMT 2026

काठमाडौं । चक्रपथअन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको १ किलोमिटरमा सडक विस्तार गर्न भन्दै ३२ असारमा ठेक्का आह्वान गरिएको छ। २१ साउनसम्म म्याद राखेर खुलाइएको ठेक्काको लागत करिब ५१ करोड भएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए। समयमै ठेक्का लागे दसैंअगाडि नै काम सुरु हुने उनले जनाए।
उक्त खण्डमा सर्भिससहित आठ लेनको सडक बनाइने देवकोटाको भनाइ छ। ‘ठेक्का सम्झौता भएको मितिले १८ महिनाभित्र काम सकिन्छ,’ उनले भने। धोबीखोला पुलबाट दुई सय मिटर वरै (सुकेधारातर्फ) सम्म सडक विस्तार गरिँदै छ। धोबीखोलामा नयाँ पुल बनाउँदा पहुँच सडक चाहिने भएकाले दुई सय मिटर राखिएको देवकोटाले बताए। ‘धोबीखोलामा नयाँ पुल बनाउने गरी अध्ययन भइरहेको छ। चालु आर्थिक वर्षभित्रै ठेक्का गर्ने तयारी छ,’ उनले भने, ‘पुल बनाउँदा बाँकी रहेको दुई सय मिटर सडक बनाउँछौं।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)