एमबीएस प्रश्नपत्र लिक प्रकरण: शुक्रबारको परीक्षा रद्द नहुने
techpana.com · Sun Jul 26 12:57:02 GMT 2026

काठमाडौं । शुक्रबार मास्टर्स इन बिजनेस स्टडिज (एमबीएस) परीक्षा सुरु भएको केही समयमा नै सामाजिक सञ्जालमा प्रश्नपत्र लिक भएको घटना बाहिरिएपछि अब दिइसकेको परीक्षा के हुन्छ भन्ने विषयमा विद्यार्थीहरूमा अन्योलता देखिएको छ । शुक्रबार सम्पन्न ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षाको प्रश्नपत्र लिक भएपछि परीक्षा दिइसकेका विद्यार्थीहरूले अब फेरि पनि परीक्षा दिनुपर्ने हो कि भन्दै सामाजिक सञ्जालमा प्रश्न गरिरहेका छन् । सो विषयमा जानकारी दिँदै त्रिवि व्यवस्थापन सङ्कायका डीन प्राडा. महानन्द चालिसेले शुक्रबार लिइएको ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा रद्द नहुने बताएका छन् ।
परीक्षा भएको केही समयपछि मात्र प्रश्नपत्र लिक भएकाले तत्कालै परीक्षा रद्द गर्नुपर्ने कारण नभएको उनले बताए । उनले भने, “अहिलेसम्मको अवस्था हेर्दा परीक्षा हुनुभन्दा पहिले नै प्रश्नपत्र आउट भएको देखिँदैन । परीक्षा सुरुभएको केही समय पछि मात्र लिक भएको देखिएको छ । यदि परीक्षा सुरु हुनुभन्दा पहिले नै आउट भएको भए तत्कालै परीक्षा रद्द गरिन्थ्यो ।” हाल भने घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको र समितिको प्रतिवेदनबाट आएको निष्कर्ष अनुसार कारबाही अघि बढाउने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)