अर्थमन्त्रीको राजीनामा माग्ने तयारीमा प्रतिपक्षी
nagariknews.nagariknetwork.com · Tue Jul 28 01:05:34 GMT 2026

बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाब सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराएका थिए। प्रधानमन्त्रीको यो कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रामक बनेका हुन्। प्रतिनिधिसभाको बैठक साउन १४ गते बस्दै छ भने राष्ट्रियसभाको बैठक साउन १५ गते बस्दै छ।
प्रतिपक्षी नेताहरूका अनुसार जनतालाई प्रत्यक्ष भार पर्ने संवेदनशील क्षेत्रमा बिनाअध्ययन र गैरजिम्मेवार ढंगले कर थप्ने र पछि प्रधानमन्त्रीले हटाउनुपर्ने स्थिति आउनुले अर्थमन्त्रीको असफलता पुष्टि गरेको छ। आफ्नो अधिकार क्षेत्र अरूले प्रयोग गर्दा नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग संसद्को आगामी बैठकमा सशक्तरूपमा उठाउने तयारी प्रतिपक्षको रहेको नेकपाका एक सांसदले बताए। उता, सत्तापक्षका केही सांसदहरूले भने जनभावनाको कदर गर्दै कर फिर्ता लिइनु सकारात्मक भएको बताएका छन्। यद्यपि, कर हटाउने निर्णयसँगै संसद्को आगामी बैठक थप पेचिलो र राजनीतिक रूपमा गर्माउने संकेत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)