ब्याटिङ गर्न बिर्सिएको नेपाल
annapurnapost.com · Tue Jul 28 01:51:11 GMT 2026
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृंखलामा नेपालले लगातार ब्याटिङमा समस्या भोगेको छ। कमजोर ब्याटिङकै कारण नेपालले शृंखलाका चारमध्ये तीन खेल गुमाइसकेको छ। खराब ब्याटिङकै कारण शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग पनि ब्याटिङकै कारण ६ विकेटको पराजय बेहोरेको थियो।
यसैगरी सोमबार भएको नामिबियासँगको खेलमा पनि नेपाल ब्याटिङकै कारण तीन रनले पराजित हुन पुग्यो। नामिबियाले दिएको दुई सय १२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा संघर्ष गर्दै पूरै ५० ओभर खेले पनि ६ विकेट गुमाएर दुई सय आठ रन मात्रै बनाउन सक्यो। नेपालका आसिफ शेखले ४५, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४, गुलसन झाले १९ र इशान पाण्डेले १४ रन जोडेका थिए। ललितनारायण राजवंशीको स्थानमा मौका पाएका भीम सार्की एक र दीपेन्द्रसिंह ऐरी तीन रनमा पेभेलियन फर्किएका थिए। नामिबियाका ज्याक ब्रसेलले तीन विकेट लिए। यस्तै रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)