स्कारपियो चढेर लुटपाट गर्न हिँड्ने गिरोह प्रहरीको फन्दामा
shilapatra.com · Tue Jul 28 02:55:00 GMT 2026

रुपन्देही प्रहरीले स्कारपियो गाडी प्रयोग गरी लुटपाटमा संलग्न रहेको एक समूहलाई पक्राउ गरेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका– ४ स्थित हाटबजारमा भिडभाडको मौका छोपी एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी भएको घटनामा संलग्न पाँच जनालाई स्कारपियो गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार ९ साउनमा हाटबजारमा भिडभाडको फाइदा उठाउँदै पीडितले लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री स्न्याचिङ गरिएकोमा खोजतलास तथा अनुसन्धानका क्रममा सिक्री लुटपाटमा संलग्न गिरोहले प्रयोग गरेको बा १९ च ४३७७ नम्बरको स्कारपियो गाडीसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो । घटनालगत्तै रुपन्देही प्रहरीले प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमान्डमा प्रहरी टोली परिचालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)