समर्थकका प्रिय ‘जिजु’ को प्रतीक्षा अन्त्य
nagariknews.nagariknetwork.com · Wed Jul 29 01:43:13 GMT 2026
फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा मंगलबार औपचारिक घोषणा भएपछि जिनेदिन जिदानले दुवै मुठ्ठी कसे र प्रायः शान्त देखिने उनको आवाज पनि केही क्षण भावुक बन्यो।
‘म निकै उत्साहित छु,’ जिजु उपनामले चिनिने ५४ वर्षीय जिदानले भने, ‘फ्रान्सको टोली समाल्नु एउटा सपना हो। फ्रान्ससँग असाधारण खेलाडी छन्, असाधारण टोली छ।’ उनले सन् २०२१ मा रियाल मड्रिड छाडेपछि कुनै पनि टोलीको जिम्मेवारी लिएका थिएनन् तर लामो समयपछि जिदानले अब फ्रान्सको प्रशिक्षण सम्हाल्नेछन्।उनी त्यही टोलीका प्रशिक्षक बनेका छन्, जहाँ उनी खेलाडीका रूपमा विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एक थिए। ऐतिहासिक सफलता पनि फ्रान्सलाई दिलाए। उनले सन् २०२६ को विश्वकपपछि पद त्यागेका डिडिएर डेसच्याम्पको स्थान लिएका हुन्। ‘यो अवसरका लागि पाँच वर्षसम्म प्रतीक्षा गरेको थिएँ। त्यसैले आज अलिकति भावुक छु,’ जिदानले भने, ‘प्रशिक्षकका रूपमा जीवनकै सबैभन्दा खुसीको दिन यही हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)