पोस्टमार्टमपछि अनुसन्धान : रोकेर राखिएको ट्रकमुनि सुतेका ऋषिदेवको गुडेपछि किचेर मृत्यु
annapurnapost.com · Wed Jul 29 02:04:15 GMT 2026

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु सामान्य रूपमा लडेर नभई ट्रकले किचेर भएको तथ्य पोस्टमार्टमपछि खुलेको छ । घटनाको वास्तविकता सार्वजनिक भएपछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।
सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा गाउँपालिका–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते आइतबार साँझ करिब ६:३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए । उनको उद्धार गरी उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।