सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न
emountaintv.com · Wed Jul 29 04:11:27 GMT 2026
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रसरतामा सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गर्न बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने रास्वपा र सभापति रवि लामिछानेको पहलकदमीप्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताउनु भयो । नेपाली काँग्रेसले यस विषयमा आफ्नो धारणा प्रष्ट पार्दै मातहतका पार्टी पङ्क्ति र स्थानीय जनप्रतिनिधिहरूलाई व्यक्तिगत तवरमै टेलिफोन गरी स्थानीय स्तरमा संवाद र सद्भावका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भयो । सभापति थापाले प्रभावित जिल्लाहरूमा सर्वदलीय प्रयासलाई तिब्रता दिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रशासन, प्रेस र राजनीतिक दलहरूले ‘प्रो–एक्टिभ’ भएर लाग्नुपर्ने प्रश्ताव गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)