चर्को आलोचनाबीच फिफा अध्यक्ष इन्फान्टिनोले गरे बचाउ
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको व्यावसायिक सम्पत्ति व्यवस्थापनका लागि प्रस्ताव गरिएको नयाँ सहायक कम्पनी ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) फुटबलको विकासलाई तीव्र गति दिने अवसर मात्र भएको र यो कुनै पनि सदस्य राष्ट्रका लागि बाध्यकारी नभएको स्पष्ट पारेका छन्। यस योजनामाथि विश्व फुटबलजगत्मा चर्को आलोचना भइरहेका बेला उनले भिडियो सन्देशमार्फत यसको बचाउ गरेका हुन्।
एफएफई गठनको मुख्य उद्देश्य फुटबलबाट सिर्जना हुने व्यावसायिक मूल्यलाई अझ प्रभावकारी रूपमा उपयोग गरी विश्वभरका सदस्य सङ्घसम्म त्यसको लाभ पुर्याउनु रहेको इन्फान्टिनोले बताउनुभएको छ। फिफाको लोकतान्त्रिक निर्णय प्रक्रियाअन्तर्गत सदस्य सङ्घहरूको मतदान र ३८ सदस्यीय फिफा परिषद्को अनुमोदनपछि मात्र यो प्रस्ताव कार्यान्वयन हुने जनाइएको छ। यसअघि फिफाले एफएफईमा आफ्नो बहुमत स्वामित्व कायम राख्दै अल्पमत हिस्सेदारी दीर्घकालीन लगानीकर्तालाई बिक्री गरेर करिब चार अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना सार्वजनिक गरेको थियो। योजना स्वीकृत भए प्रत्येक सदस्य सङ्घले चार करोड अमेरिकी डलर प्राप्त गर्ने र यसका लागि सेप्टेम्बर १९ भित्र सहमति जनाउनुपर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)