तराईको तनावपूर्ण स्थितिलाई समाधान गरि शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
arthasansar.com · Thu Jul 30 11:56:00 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ सो घटनामा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । साथै घटनामा परि घाईते हुनुभएका सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ । तराई–मधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो । कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन । यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्याउँछ । सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो । तसर्थ, जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, सम्वाद र आपसी समझदारीबाट मात्र सम्भव हुने महासंघको दृढ विश्वास रहेको छ । महासंघ सुनसरीको कप्तानगञ्ज लगायतका स्थानहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तथा सरकारसँग जोडदार माग गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)