सेयर बजारमा गिरावट, कमजोर अर्थतन्त्र कि लगानीकर्ताको मनोबल ?
arthasansar.com · Thu Jul 30 12:17:00 GMT 2026

अघिल्ला दुई हप्ता उच्च अंकले बढेको सेयर बजार यो साता भने लगातार रुपमा घटिरहेको छ । गत साता मात्रै पनि उच्च अंकले बढेको यो साता लगातार चार दिन बजार घट्यो । यो साताको सुरुको दिनदेखि बिहीबारसम्मको अवधिमा सेयर बजारमा लगातार गिरावटा आयो । सुरुका केही दिनको घटाइलाई लगानीकर्ताहरुले दुई हप्ताको वृद्धिमा देखिएको करेक्सनका रुपमा हेरे । तर, लगातार रुपमा बजार घटेपछि भने लगानीकर्ताहरु अहिले निकै प्यानिक अवस्थामा पुगेका छन् । बजारमा अहिले ठूला लगानीकर्ताहरु नै डराइरहेको जस्तो देखिएको छ । अहिले बजारमा जुन रुपमा सेयर खरिद बिक्रीको प्याटन देखिन्छ त्यो अनुसार अहिले ठूला लगानीकर्ता बजारमा प्रवेश नगरेको जस्तो देखिएको लगानीकर्ताहरुकै भनाइ छ ।
यो हप्ताको ४ दिनमा नै सेयर बजारमा ६२.०२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक २७३४.६० विन्दुमा बन्द भएको थियो । यो साताको सोमबारदेखि बिहीबारसम्मको अवधिमा बजार ६२.०२ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेको छ । यो एक हप्ताको अवधिमा सेयर बजारको कारोबार रकममा पनि करिब ३ अर्बको गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन सेयर बजारमा ६ अर्ब १८ करोड माथिको कारोबार थियो । यो साताको चौथो दिन (बिहीबार) को कारोबार बन्द हुँदा सेयर बजारमा ३ अर्ब ३८ करोडको कारोबार भएको छ । अहिले पुँजी बजारमा नेप्से इन्डेक्स सहित कारोबार रकममा पनि गिरावट आइरहेको छ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको सुधारका लागि भन्दै कार्यायोजना सार्वजनिक गरेको थियो । त्यस्तै पुँजी बजारका विषयमा प्रधानमन्त्री बालेन्द्र साहले पनि चासो दिएका थिए । पुँजी बजारको सुधारको योजना र प्रधानमन्त्रीको चासोसँगै आर्थिक वर्षको सुरुवातको समयमा पनि भएकाले बजार बढेको लगानीकर्ताहरुले बताउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)