राष्ट्रिय सुरक्षा परिषद्को बैठक: सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने
arthasansar.com · Thu Jul 30 09:30:00 GMT 2026

बालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले मुलुकको समग्र सुरक्षा स्थितिको समीक्षा गर्नुका साथै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्न सबै सुरक्षा निकाय तथा सरोकारवालाहरूबीचको समन्वय अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। परिषद्का अनुसार, बैठकमा गत साउन १० गते सुनसरीमा घटेको घटना र देशको हालको सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। राजनीतिक दल, स्थानीय बासिन्दा र सुरक्षा निकायको संयुक्त प्रयासबाट अहिले सुनसरीको स्थिति सामान्य बन्दै गएको जानकारी बैठकमा गराइएको थियो।
बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख छ । साथै विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)