सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, '२०८२' बारे मर्चेन्ट बैंकरहरूलाई अभिमुखीकरण
arthasansar.com · Fri Jul 31 06:10:08 GMT 2026

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन प्रक्रियालाई थप जिम्मेवार, पारदर्शी र गुणस्तरीय बनाउने उद्देश्यले नयाँ मापदण्डका बारेमा सरोकारवालाहरूलाई जानकारी गराएको छ । बोर्डले बिहीबार आफ्नै कार्यालयमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित गरी ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
२०८३ वैशाख १ गतेदेखि लागू भएको उक्त मापदण्डले संगठित संस्थाहरूको वित्तीय विवरणको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोर्डका अध्यक्ष, पदाधिकारी र विभिन्न मर्चेन्ट बैंकरका प्रतिनिधिहरू गरी करिब ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन बोर्डले नीतिगत सुधारलाई निरन्तरता दिइरहेको बताए । “सार्वजनिक निष्काशन प्रक्रियामा व्यापक सुधार गर्न बोर्डले ‘प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ,” उनले भने । उक्त श्वेतपत्रले लगानीकर्ताको हित संरक्षण र प्राथमिक बजारको गुणात्मक रूपान्तरणमा विशेष जोड दिने उनको भनाइ थियो । अध्यक्ष भट्टले धितोपत्रको प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरूको भूमिका अहम हुने उल्लेख गर्दै उनीहरूलाई बजारप्रति थप जिम्मेवार बन्न र लगानीकर्ताको हकहित संरक्षणमा अग्रसर हुन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)