व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ
emountaintv.com · Sat Aug 01 06:29:12 GMT 2026
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं पूर्वमन्त्री सीता गुरुङले व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपिएको बताउनुभएको छ । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र प्राप्तिको लामो सङ्घर्षपछि पनि प्रणालीलाई सुदृढ बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । मुलुकको विविधतालाई सम्बोधन गर्दै प्रत्येक नागरिकले राज्यमा आफ्नो सुरक्षा र भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान राजनीतिक अवस्था, भू–राजनीति र सामाजिक परिवेशलाई मध्यनजर गर्दै जनतामा पुनः आशा जगाउनु नै अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको नतृ गुरुङको भनाइ छ । नेतृ गुरुङले नेपाली जनताले नागरिक अधिकार र स्वतन्त्रताका लागि पटक–पटक आन्दोलन गरेको स्मरण गर्दै प्राप्त प्रजातन्त्रलाई अझै पनि ‘कलिलो’ नै मान्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
संविधान सभाको निर्वाचन र संविधान निर्माणको प्रक्रियाबारे चर्चा गर्दै उहाँले राजनीतिक दलहरूबीचको साझा सहमतिमा संविधान बनेको उल्लेख गर्नुभयो । पहिलो संविधान सभाको कार्यकाल निष्कर्षविहीन हुनु र दोस्रो निर्वाचनमार्फत संविधान जारी हुनुले नेपाली राजनीतिमा देखिएका जटिल खुड्किलाहरूलाई प्रष्ट पार्ने उहाँको तर्क छ । वर्तमान संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता उपलब्धिहरू ऐतिहासिक भएको गुरुङले उल्लेख गर्नुभयो । तर ती उपलब्धिलाई संस्थागत गर्न आवश्यक पर्ने कानूनहरू समयमै निर्माण हुन नसक्दा कार्यान्वयनमा जटिलता देखिएको उहाँको ठम्याइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)