वेल्सले फिर्ता लियो इन्फान्टिनोमाथिको समर्थन
baahrakhari.com · Mon Aug 03 09:32:14 GMT 2026
काठमाडौं । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वलाई निरन्तरता दिने पक्षमा रहेको समर्थनलाई वेल्सले फिर्ता लिइएको जनाएको छ ।
फिफाका प्रमुख प्रतियोगितामा निजी लगानी कम्पनीलाई स्वामित्वको हिस्सा बिक्री गर्ने विवादास्पद योजना रद्द भएपछि इन्फान्टिनोप्रतिको विश्वास कमजोर बन्दै गएको पृष्ठभूमिमा वेल्सले सार्वजनिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
फुटबल एसोसिएसन अफ वेल्स (एफएडब्ल्यू)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “फिफाको सन् २०२७–२०३१ कार्यकालका निम्ति अध्यक्ष पदमा जियानी इन्फान्टिनोको पुनः उमेदवारीप्रतिको हाम्रो समर्थन फिर्ता लिइएको छ ।”
एफएडब्ल्यूले आफ्नो वक्तव्यमा अगाडि भनेको छ, “सुशासन, निर्णय प्रक्रिया, नेतृत्व, मूल्यमान्यता, सरोकारवालासँगको सम्बन्ध, सञ्चार र विवेकपूर्ण निर्णयका क्षेत्रमा हालै देखिएका असफलताका कारण इन्फान्टिनोले विश्व फुटबलको नेतृत्वमा रहिरहन आवश्यक विश्वास एफएडब्ल्यूबाट गुमाइसकेका छन् ।”
एफएडब्ल्यूले थप स्पष्ट पारेको छ, “फुटबलको सर्वोत्तम हितलाई पहिलो प्राथमिकतामा राख्न नसक्नु यस्तो असफलता हो, जसलाई हामी स्वीकार गर्न सक्दैनौँ ।”
इन्फान्टिनोको बहु–अर्ब डलरको उक्त योजनाले विश्व फुटबलमा व्यापक विरोध निम्त्याएको थियो । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले त विश्वकपसहित फिफाका सम्पूर्ण प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको थियो ।
उत्तर, मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको फुटबल हेर्ने महासंघ कोन्काकाफ र यूईएफए दुवैले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै इन्फान्टिनोले उक्त योजना फिर्ता लिएपछि पनि फिफाको नेतृत्व शैलीको आलोचना गरेका थिए ।
#फिफा
#जियानी इन्फान्टिनो
#वेल्स
#एफएडब्ल्यू
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)