आजदेखि उद्योग विभागका यी सेवाहरू पूर्ण रूपमा अनलाइनबाट, भौतिक आवेदन तथा कागजातहरू स्वीकृत नहुने
techpana.com · Mon Aug 03 03:02:52 GMT 2026

काठमाडौं । उद्योग विभागले आज सोमबार (१८ साउन) देखि आफ्ना अधिकांश सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । विभागले नयाँ उद्योग दर्ता अनुमति (नेपाली लगानीका २५ करोड माथि स्थिर पुँजी भएका), इकाई उद्योग दर्ता, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, अद्यावधिक, म्याद थप तथा नवीकरण, शेयर संरचना तथा शेयरधनी परिवर्तन लगायत कार्यहरू पूर्ण रूपमा अनलाइन बनाएको हो । यी सेवाहरू औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आइएमआईएस) बाट अनलाइनमार्फत मात्र उपलब्ध हुने र भौतिक आवेदन नलिने विभागले जनाएको छ ।
यसका साथै, विदेशी लगानीका उद्योगका हकमा लगानी स्वीकृत सम्बन्धी कार्य, व्यवसायिक भिसा सिफारिस, लगानी फिर्ता, प्रविधि हस्तान्तरणलगायत कार्यहरू पनि पूर्ण रूपमा अनलाइन भएको छ । यस्तै, कच्चा पदार्थ खपतको नर्म्स निर्धारण, वार्षिक प्रगति विवरण पेश, छुट, सुविधा, सहुलियत सिफारिस, संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी सेवा पनि आइएमआईएसमार्फत पूर्ण रुपमा अनलाइन बनाइएको छ । यी सेवाहरूका लागि सोमबारदेखि नै भौतिक रूपमा आवेदन तथा कागजातहरू दर्ता गर्न बन्द गर्ने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)