राजमार्ग जोड्ने पुल बगेपछि...
annapurnapost.com · Mon Aug 31 01:35:57 GMT 2026

गोरखा : गाउँबाट पृथ्वी राजमार्ग जोड्ने झोलुंगे पुलहरू त्रिशूलीको बाढीले बगाएपछि गण्डकी गाउँपालिकाका विभिन्न गाउँबस्तीका बासिन्दा चिन्तामा छन्। बाढीले पुलहरू बगाएर नष्ट गरेपछि गण्डकी गाउँपालिका–६, ७ र ८ का बासिन्दालाई राजमार्गसम्म जान असहज भएको हो।
बुधबार दिउँसो आएको त्रिशूलीको बाढीले गण्डकी गाउँपालिका–६ को हिक्लुङ गाउँ र पृथ्वीराजमार्ग जोड्ने हिक्लुङघाटको पुल पूर्णरूपमा क्षतिग्रस्त भएको स्थानीय सर्मिला चेपाङले जानकारी दिइन्। सो पुल हुँदै हिक्लुङ, थुम्का, लुप्राङका चेपाङ समुदाय राजमार्गसम्म पुग्ने गर्दथे। ‘हाम्रो गाउँका विद्यार्थीहरू हिँड्ने पुल बाढीले लग्यो’, उनी भन्छिन्, ‘अब फिस्लिङ जानुपर्दा पनि डेढघण्टाको बाटो घुमेर जानुपर्छ। मझिमटार जानु परे पनि अर्कोपुलसम्म पुग्न डेढघण्टा घुम्नुपर्छ।’ व्यावसायिक किसानले लगाएको तरकारी बजारसम्म पुर्याउन असाध्यै कठिन भएको उनको भनाइ छ। ‘यो सिजनको तरकारी बजार पुर्याउन गाह्रो भएको छ’, उनले भनिन्, ‘डोकोमा बोकेर फिस्लिङको सहकारीमा पुर्याउनुपर्छ। ६ कक्षादेखि माथिको कक्षामा पढ्ने विद्यार्थीहरूलाई पनि मझिमटार स्कुल पढ्न जान धेरै घुमेर जान बाध्य भएका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)