हिमालय क्षेत्रको विपत्
gorkhapatraonline.com · Mon Aug 31 02:18:00 GMT 2026

नेपालको भौगोलिक अवस्थिति र भूगर्भीय बनोटका हिसाबले हिमाली क्षेत्र प्राकृतिक रूपमा जति मनमोहक छ, वातावरणीय र पर्यावरणीय संवेदनशीलताका दृष्टिले त्यति नै जोखिमपूर्ण र कमजोर पनि छ । हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी जलाधार क्षेत्रमा आएको अकस्मात्को प्रलयकारी बाढीपहिरो र त्यसले निम्त्याएको अपूरणीय मानवीय तथा भौतिक क्षति केवल एउटा जिल्लाको स्थानीय विपत्ति मात्र होइन । यो समग्र हिन्दुकुश हिमालय क्षेत्रमा द्रुत गतिमा फेरिँदै गएको वातावरणीय सन्तुलन, जलवायु सङ्कटको बढ्दो प्रभाव र प्रकृतिलाई उपेक्षा गरेर गरिने मानवीय विकासको ढाँचामाथि लागेको एक गम्भीर धक्का हो । प्राकृतिक प्रकोप र मानवीय कमजोरीको यस दुःखद घटनाले नेपाललाई जलस्रोत, पूर्वाधार विकास र विपत् व्यवस्थापनका क्षेत्रमा कठोर सामूहिक पाठ सिकाएको छ; जसलाई समयमै बुझ्न र आत्मसात् गर्न नसकिए आगामी दिनमा हिमाली सभ्यता र भौतिक अस्तित्व नै सङ्कटमा पर्ने निश्चित देखिन्छ ।
विसं २०८३ भदौ १० गते बुधबार बिहान रसुवाको सदरमुकाम धुन्चे आसपास कतै पानी परेको थिएन र मौसम पूर्ण रूपमा खुलेको थियो । चिनियाँ पक्षबाट प्राप्त भूउपग्रह (स्याटेलाइट) तस्बिरको प्रारम्भिक विश्लेषण अनुसार तिब्बत क्षेत्रमा रहेको ल्हेन्देखोलाको माथिल्लो जलाधारमा हिमसहितको ठुलो चट्टानी पहिरो अचानक नदीमा खस्न पुगेको थियो । यस भीमकाय पहिरोले नदीको प्राकृतिक बहाबलाई थुनेर अस्थायी ताल बनाएको र उक्त ताल अचानक फुट्दा ठुलो मात्रामा थुप्रिएको पानी र चट्टानी गेग्य्रान तीव्र गतिमा तल बगेर विनाश निम्त्याएको हो । नदीको तीव्र बहाबका कारण शव बगेर तल्लो तटीय क्षेत्रसम्म पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)