९ टनेलमा अझै भएन उद्धारको काम
annapurnapost.com · Mon Aug 31 02:50:48 GMT 2026

काठमाडौं : बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका १३ वटा टनेल पुरिएका थिए। टनेलमा फसेका ८ सय ९८ जनामध्ये सबैको उद्धार भइसकेको छैन। सरकारी र निजी गरी ४ वटा टनेलमा फसेका व्यक्तिको उद्धार गर्ने कोसिस भइरहेको सरकारले जनाएको छ। ९ वटा टनेलमा फसेका व्यक्तिहरूको उद्धारका लागि भने सरकारका तर्फबाट ठोस कदम चालिएको छैन। आयोजनामा काम गर्ने कर्मचारीका परिवार र आफन्त उद्धारका लागि सरकारका विभिन्न निकायसँग याचना गरिरहेका छन्। तर, सरकारले ठोस जवाफ दिन सकेको छैन।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूको खोजीमा पीडित परिवारका सदस्यहरू तस्बिर बोकेर अस्पताल, प्रहरी कार्यालय र नदी किनारहरूमा भौंतारिरहेका छन्। कतिपय व्यक्तिहरू अस्पतालको शवगृह अगाडि पनि कुरिरहेका छन्। बाढी गएको ५ दिन भइसक्दासमेत कुनै जानकारी नपाउँदा जीवितै फेला पार्ने आशा क्षीण बने पनि आफन्तको अवस्थाबारे जानकारी लिन आफन्त र परिवारजन सरकारी निकायैपिच्छे धाइरहेका छन्।अस्पतालको भित्ताभरि सम्पर्कविहीनहरूका तस्बिर टाँसिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)