समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो
emountaintv.com · Wed Aug 05 07:12:56 GMT 2026
काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद गीता गुरुङले समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था र समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा बोल्दै उहाँले समितिका निर्णयहरू अपरिपक्व हुँदै गएको र यसले समितिको गरिमामा आँच पु¥याएको टिप्पणी गर्नुभयो । सांसद गुरुङले समितिले एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट जस्ता अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूलाई छलफलका लागि आमन्त्रण गरेको विषयमा आपत्ति जनाउनु भयो । ती संस्थाहरू नेपाल सरकार मातहत नभएको र समितिलाई प्रत्यक्ष जवाफदेही समेत नहुने जिकिर गर्नुभयो । उहाँले अर्थ समितिले पनि त्यसै गरी विश्व बैंक वा आईएमएफलाई बोलाउन सक्ने भन्दै समितिको संवैधानिक हैसियत र महत्वलाई ख्याल गर्न आग्रह गर्नुभयो । कुनै व्यक्तिको निवेदनका आधारमा हतारमा एजेण्डा तय गर्ने परिपाटी गलत रहेको उल्लेख गर्दै सांसद गुरुङले एजेण्डा तय गर्दा सभापति र कर्मचारीले मात्र नभई सिंगो समितिले निर्णय गर्नुपर्ने माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)