वन व्यवस्थापनमा ‘कान्ले ज्ञान’
nepalnews.com · Wed Aug 05 08:15:21 GMT 2026

४६ प्रतिशत भूभाग फैलिएको नेपालको वन क्षेत्रमध्ये ८५ प्रतिशतभन्दा बढी भाग भिरालो जमिनमा अवस्थित छ। वनलाई स्रोत बनाउने वन व्यवस्थापनका विषयमा बहस हुँदा धेरैले एउटा कुरा दोहोर्याउने गर्छन्, ‘भिरालो जमिनमा वन व्यवस्थापन सम्भव छैन, रुख काट्यो भने पहिरो जान्छ।’ यो धारणा धेरै हदसम्म स्थापित भइसकेको छ। तर प्रश्न उठ्छ, भिरालो जमिनमा कुनै पनि प्रकारको व्यवस्थापन सम्भव थिएन भने हाम्रा पुर्खाले यिनै डाँडाकाँडा र भिरालो जमिनमा कसरी खेती गरे? यिनै पहाडका पाखामा बनेका सुन्दर खेत र बारीका कान्लाहरू कसरी निर्माण भए?
नेपालका तराई क्षेत्रभन्दा उत्तरतर्फका भू-दृश्य हेर्दा प्रकृतिसँग सहकार्य गरेर स्थापना गरिएको सामाजिक-आर्थिक प्रणालीको अद्भुत परम्परागत ज्ञान देख्न सकिन्छ। भिरालो जमिनमा बसेका बस्ती र खेतबारीले हामीलाई विभिन्न सन्देश दिइरहेका छन्। जहाँ जमिन कम भिरालो छ, त्यहाँ खेत र बारीका गरा ठूल्ठूला हुन्छन्। जहाँ भिरालोपन बढी छ, त्यहाँ साना-साना गरा बनाएर जमिनलाई स्थिर बनाइएको छ। किनकि परम्परागत अभ्यासमा पहाडको फेदीबाट भन्दा पनि कहाँबाट कहाँसम्म भिरालोपन कम गर्ने भनेर खेत र बारीको गराको चौडाइ तथा कान्लाको उचाइ मिलाउँदै पानीको बहाव नियन्त्रण गरिएको हुन्छ, यसले माटो बग्न जोगाई निरन्तर उत्पादनमा सघाउ पुर्याउँछ। यो कुनै आधुनिक प्रविधिको उपलब्धि होइन; यो त पुर्खाहरूले विकास र अभ्यास गरेको परम्परागत ज्ञानको उत्कृष्ट उदाहरण हो। यही परम्परागत ‘कान्ले ज्ञान’ बाट पुर्खाहरूले भिरालो जमिनमा पनि उत्पादन गरेर जीवन निर्वाह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)