रूस र युक्रेनमा बालबालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान
reportersnepal.com · Wed Aug 05 09:44:24 GMT 2026

जेनेभा, २० साउन । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा बालबालिका, नागरिक तथा पूर्वाधारमाथि आक्रमण गर्न अन्त्य गर्न आह्वान गरेको छ । युनिसेफले यिनीहरुको संरक्षण गरी अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्ना दायित्व पालन गर्नसमेत सबै सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।
युनिसेफले विज्ञप्ति जारी गर्दै रूसको फेडरेसनको बेलगोरोड क्षेत्रस्थित खेल मैदान नजिकै आइतबार ड्रोन प्रहार हुँदा १३ वर्षीया बालिकाको मृत्यु हुनुका साथै दुई बालिका घाइते भएको रिपोर्ट गरेको छ । मङ्गलबार क्रास्नोडार क्षेत्रमा भएको आक्रमणमा मृत्यु भएका सातमध्ये तीन जना बालबालिका रहेको बताइएको छ । उक्त आक्रमणमा करिब ४० जना घाइते भएका छन् । युक्रेनमा, पछिल्लो सात दिनमा भएको रूसी आक्रमणमा कम्तीमा छ बालबालिकाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । युनिसेफले बालबालिकाहरूले बस्ने र खेल्ने क्षेत्रहरु सुरक्षित हुनुपर्ने विषयमा जोड दिँदै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आ–आफ्ना दायित्वहरू कायम राख्न र बालबालिकाहरूलाई मर्न बाध्य बनाउने र घाइते बनाउने आक्रमणहरू रोक्न आह्वान गरेको छ । युक्रेनले पछिल्लो समयमा रूसी क्षेत्रभित्रका विभिन्न लक्ष्यहरूमा लामो दूरीको आक्रमणलाई तीव्र बनाएको जनाइएको छ भने रूसले युक्रेनी सहरहरूमा मिसाइल तथा ड्रोन आक्रमणहरू जारी राखेको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)