हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
arthasansar.com · Thu Aug 06 04:46:01 GMT 2026

इरान र ओमान महत्वपूर्ण हर्मुज जलडमरू पुनः खोल्ने सम्झौताको अन्तिम चरणमा पुगेका छन्। दुवै देशले जलडमरू हुँदै जहाज आवतजावत गर्ने मार्गका भौगोलिक निर्देशांकमा सहमति गरेपछि सम्झौता छिट्टै अन्तिम रूप लिन सक्ने इरानले जनाएको छ। हर्मुज विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले यहाँको तनावले विश्व बजार र ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पार्दै आएको छ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिच वार्ता भइरहेको दाबी दोहोर्याउँदै आफू युद्धभन्दा कूटनीतिक समाधानको पक्षमा रहेको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिका र इरानबिचको प्रारम्भिक सम्झौता ४८ घण्टाभित्रै हुन सक्ने सम्भावना छ। प्रस्तावित सम्झौताको मुख्य विषय हर्मुज जलडमरू पुनः खोल्नु हुनेछ र यसले दुई देशबीच थप व्यापक वार्ताको बाटो खोल्न सक्ने बताइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तालाई जटिल र उतारचढावपूर्ण भए पनि अन्ततः अमेरिकाका लागि सकारात्मक परिणाम आउने दाबी गरेका छन्। उनले फक्स न्युजसँग भने, ‘यो अव्यवस्थित हुनेछ र त्यहाँ पुग्न केही समय लाग्नेछ।’ भान्सले इरानले आणविक हतियार बनाउन नपाउने र सम्झौतापछि अमेरिका अझ बलियो अवस्थामा रहने दाबी गरे। उनले आवश्यक परे सैन्य, आर्थिक र कूटनीतिक सबै साधन प्रयोग गरेर वार्तालाई सही निष्कर्षमा पुर्याउने बताए। तर उनले इरानी नेतृत्वभित्रै मतभेद रहेको दाबी गरेका छन्। उनका अनुसार इरानी प्रणालीमा युद्ध अन्त्य गर्न चाहनेहरू पनि छन् भने केही कट्टरपन्थीहरू युद्ध जारी राख्न चाहन्छन्। ‘हाम्रो काम त्यसबीचबाट अघि बढ्दै अमेरिकी जनताका लागि सबैभन्दा राम्रो परिणाम निकाल्नु हो,’ भान्सले भने।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)