राप्रपाले राजाको नाममा भोट बटुलेको धवल शमशेरको आरोप, चाहना संवैधानिक राजसंस्थाको
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । ‘जय नेपाल पार्टी’ का अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दलको उद्देश्यबारे जानकारी दिँदै उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट मात्र बटुल्ने तर जनताले अवसर दिँदा आफ्ना मूल एजेण्डालाई कार्यान्वयन गर्न नसकेको बताए। राप्रपाका नेताहरूको व्यक्तिगत स्वार्थ र गतिविधिप्रति जनताको असन्तुष्टि चुनावमा देखिएको र यसैकारण एजेण्डा नै समाप्त हुने खतरा बढेकाले त्यसलाई जोगाउन नयाँ राजनीतिक यात्रामा निस्किएको उनको भनाइ छ।
अध्यक्ष जबराले आफ्नो पार्टीले सक्रिय राजनीति गर्ने राजसंस्था नभई अभिभावकीय भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना चाहेको स्पष्ट पारेका छन्। देशमा राजनीति गर्ने काम नेपालीका छोराछोरीको भएको बताउँदै उनले राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नखोजी राष्ट्रिय एकता र राष्ट्र रक्षकको रूपमा एउटा मियो वा घरमुलीको भूमिकामा रहने राजसंस्था आवश्यक रहेकोमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)