अम्बा खान आएको भन्दै ४ वर्षीया बालिकाको हत्या, छिमेकी पक्राउ
annapurnapost.com · Thu Aug 06 13:50:15 GMT 2026

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५९ वर्षीय जान मोहमद मन्सुरी रहेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार साउन ८ गते साँझ जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन घरबाट हराएकी थिइन्।
परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पूर्व रहेको घन्सीबारीमा उनको शव फेला परेको थियो। निधार र कन्चटमा गहिरो चोट रहेको अवस्थामा भेटिएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा मन्सुरीले आफ्नै बारीमा रहेको अम्बा खान आएको भन्दै बालिकामाथि इँटाले प्रहार गरेको खुलेको छ। घटनापछि शव घन्सीबारीमा फालिएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)