रामकोट विष सेवन घटना: सुसाइड नोट फेला, यस्तो छ घटनास्थल!
mahendranagarpost.com · Tue Mar 08 06:12:59 GMT 2022
काठमाडौं – रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ४ जनाको अझैंपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। सोमबार राति ९ः३० बजे एकै परिवारका पाँचजना बेहोस अवस्थामा भेटिएका हुन्।
जसमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता दिनेश मैनालीले बताए।
प्रहरीले घटनास्थलबाट विषको बट्टाहरु र पानीको बोतलमा घोलेर बाँकी रहेको विष समेत फेला पारेको छ। सोहीकारण उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा विष पिएको परिवारका पाँच जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको एसपी मैनालीले बताए। ६६ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ।
भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा नरहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसीले जानकारी दिए। उनीहरु चारैजनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको सुसाइड नोट भेटिएको छ। आर्थिक अवस्था बिग्रिएको, बिरामी भएकोलगायत विषय सुसाइड नोटमा उल्लेख रहेको प्रहरी स्रोतको भनाइ छ। प्रहरीका अनुसार नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ।’
उनीहरुमध्ये कोही लामो समयदेखि मानसिक रोगले समेत ग्रसित रहेको बताइएको छ। विष सेवन गरेर आत्महत्या प्रयास गर्नुको कारण आर्थिक समस्या हुनसक्ने आंकलन प्रहरीको छ। तर, यकिन कारण खुल्न बाँकी रहेको डिएसपी केसीले बताए।
काठमाडौँ महानगरपालिका–१५ डल्लु घर भएका उनीहरु डाडाँपौवास्थित डा. उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान महानगरीय प्रहरी वृत्त स्वयम्भूले गरिरहेको छ।
उनीहरु बस्दै आएको घरअगाडि कुकुर भुकेपछि स्थानीयले के भयो भनेर पुगेर झ्यालबाट हेर्दा उनीहरु सबैजना घोप्टिएको अवस्थामा देखे। अनि तत्कालै उनीहरुले प्रहरीलाई खबर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)