करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ratopati.com · Thu Aug 06 17:30:08 GMT 2026

काठमाडौँ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका–१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाइछिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)