अटो कर्जाको विस्तारले हुलास फिनसर्भको नाफामा उछाल, रिटेन्ड अर्निङ ७७ करोड नाघ्यो
aarthiknews.com

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख रुपैयाँको तुलनामा ८४.४९ प्रतिशत बढी हो। कम्पनीले चुनौतीपूर्ण आर्थिक वातावरणकाबीच उल्लेखनीय वित्तीय वृद्धि हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा कम्पनीको कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले विस्तार भएको छ । जसको प्रमुख आधार अटोमोबाइल कर्जा व्यवसाय रहेको बताइएको छ ।
निजी क्षेत्रतर्फको कर्जा विस्तार करिब ५.७ प्रतिशतमा सीमित रहेको अवस्थामा कम्पनीले बजारको औसतभन्दा निकै उच्च वृद्धि हासिल गरेको दाबी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यस्तै, फि तथा कमिसन आम्दानी पनि ४६ करोड १६ लाख रुपैयाँबाट बढेर ५६ करोड ६ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानी तथा शुल्क–कमिसन आम्दानीमा भएको वृद्धिले नाफा सुधारमा टेवा पुगेको कम्पनीले जनाएको छ। कम्पनीले सम्भावित जोखिम व्यवस्थापनका लागि ५ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जसमेत छुट्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)