विपदमा मानवता प्रदर्शन गरौं
ajakoartha.com · Thu Aug 27 06:23:00 GMT 2026

काठमाडौं - प्राकृति विपत्ति कसैको नियन्त्रणमा हुँदैन । प्रकृतिले आफ्नो नियम आफैं बनाउँछ । प्रकृति रिसायो भने कसैको केही लाग्दैन । तर मानिसले प्रकृतिको नियमलाई सम्मान गर्दै आफ्नो जीवनयापन भने गर्न सक्तछन् । विपद आइसकेपछि उद्धार र सहयोगमा जुट्नु मानवीय कर्तव्य र दायित्व हो । चीनको तिब्बती क्षेत्र ल्हेन्दे खोला, भोटेकोसी हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले त्यस क्षेत्रका नागरिक मात्र होइन, सिंगो मुलुक विपद्मा डुबेको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङका नागरिकको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न सरकारले बिहानैदेखि काम सुरु गरेको छ। बिचल्लीमा परेका नागरिकको सुरक्षा निकाय तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी तत्काल उद्धार र घाइतेहरूको उपचार सुरु गरिएको छ। बाढीमा परेर सम्पर्कबाहिर रहेका नागरिकको खोजी र क्षतिको विवरण संकलन सरकारले सुरु गरेको छ। अहिले नै जनधन क्षतिको यकिन गर्न सकिने अवस्था छैन। बाढीले बगरमा परिणत गरेको गाउँ–बस्ती तथा तटीय क्षेत्रलाई हेर्दा अहिलेसम्मकै सबैभन्दा धेरै धनजनको क्षति पुगेको आँकलन सुरक्षा निकायले गरेका छन्। तथापि सरकारले अहिले प्रभावितहरूको उद्धार र उपचारमा नै आफ्नो ध्यान केन्द्रित गरेको छ। सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ।
राहत दिने र लिने काम पनि आफूखुशी नगरौं । आधिकारिक र सरकारी संयन्त्रको माध्यमबाट राहत लिने दिने काम गरौं । सरकारले क्षतिग्रस्त सार्वजनिक संरचना र भौतिक पूर्वाधारहरूको तत्काल सञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको समन्वय गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ। राजनीतिक दलहरु पनि यतिबेला वैचारिक मतभेदहरु छोडेर विशुद्ध मानवीय कार्यमा जुटौं । राजनीतिक दलहरुले विगतमा जस्तै यसपटक पनि संकटमा सँगै उभिने घोषणा गरेका छन् । जुन स्वागतयोग्य र सकारात्मक पक्ष हो। विपद पछि मात्र होइन सरकार र दलहरू विपद्पूर्वको तयारीका लागि पनि एक ठाउँमा उभिएर सहकार्य गर्ने संस्कारको विकास गर्न जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)