आज विश्व आदिवासी दिवस मनाइँदै
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विभिन्न कार्यक्रमका साथ विश्व आदिवासी दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा गरेको निर्णयअनुसार हरेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिएको हो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ कै दिन बसेको हुनाले सोही मितिलाई दिवसका रूपमा छनोट गरिएको थियो।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार विश्वका ९० वटा देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम हिस्सा ओगटे पनि विश्वका अति गरिब मानिसहरूमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका रहेका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो बहुमत भाषा बोल्नुका साथै करिब पाँच हजार फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)