शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने
rajdhanidaily.com · Tue Aug 11 08:59:37 GMT 2026
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गरेको छ । नेपालमा ५जी सेवा शुरु र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको सो योजनाले शहरी क्षेत्रमा यसै वर्षदेखि र सन् २०३५ सम्म देशभर ५जी पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखेको हो ।
प्राधिकरणले नेपालको मोबाइल दूरसञ्चार सेवाको वर्तमान अवस्था, मोबाइल डेटा सेवाको बढ्दो माग, अन्तरराष्ट्रिय अभ्यास, सेवा प्रदायकबाट प्राप्त विवरण तथा विभिन्न सरोकारवालासँगको छलफलका आधारमा तयार गरेको सो मस्यौदा सार्वजनिक गर्दै सम्बन्धित पक्षबाट १५ दिनभित्र राय, सुझाव तथा सल्लाह उपलब्ध गराउन आग्रह गरेको छ । प्रस्तावित मार्गचित्रअनुसार सन् २०२७ सम्म देशभर मोबाइल ब्रोडब्यान्डको औसत गति कम्तीमा २० एमबीपीएस पुर्याउने, सन् २०३० सम्म नगर क्षेत्रमा १०० एमबीपीएसको गति उपलब्ध गराउने र सन् २०३५ सम्म देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)