डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादनको क्षमता विस्तार र विविधिकरणका लागि नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनः लगानी सम्झौता भएको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका छन् ।
उद्योगको क्षमता विस्तार तथा उत्पाद विविधिकरणको लागि बोर्डले गत माघमै लगानी स्वीकृत गरेको थियो । सम्झौतापश्चात डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न चाहेको बताए । बोर्डका सीइओ भट्टले डाबरले गरेको थप लगानीले नेपालप्रति बहुर्राष्ट्रिय कम्पनीको विश्वास रहेको पुष्टि गर्ने बताए ।
बोर्डको कार्यालयमा भएको हस्ताक्षर समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा बोर्डका सदस्य रमेश रिजालको उपस्थिति थियो । मन्त्री रिजालले डाबर नेपालको पुनः लगानीले लगानीकर्ता माझ ठूलो सन्देश प्रवाहित हुने बताए । साथै, नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्तालाई समेत सहयोग पुग्ने बताए । नेपालमा लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर उनीहरूले यसबारे निर्णय गर्न सक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)