‘द किङ’ कहलिएका रोन्नी कोलम्यान: मृत्युको मुखबाट पुनर्जन्म
newsofnepal.com · Tue Aug 11 16:44:33 GMT 2026
शारीरिक सौष्ठवको इतिहासमा ‘द किङ’ को नामले चर्चित आठ पटकका मिस्टर ओलम्पिया विजेता रोन्नी कोलम्यानको जीवन केवल मांसपेशीहरूको प्रदर्शन र स्वर्ण पदकको यात्रामात्र होइन, अनुशासन, समर्पण र कहिल्यै नझुक्ने अदम्य मानवीय चेतनाको वृतान्त पनि हो । सन् १९६४ मा अमेरिकामा जन्मिएका कोलम्यानले ग्राम्ब्लिङ स्टेट युनिभर्सिटीबाट एकाउन्टिङमा स्नातक गरेपछि आफ्नो जीवनको साँचो सपना पच्छ्याउँदै टेक्ससको आर्लिङ्टन पुलिस डिपार्टमेन्टमा एक प्रतिबद्ध प्रहरी अधिकारीका रूपमा काम सुरु गरे । सन् १९८९ देखि २००१ सम्म प्रहरीको बर्दी लगाएर जनताको सेवा गर्नु उनका लागि केवल रोजगारीमात्र थिएन, हृदयदेखिको समर्पण पनि थियो । उनले पटक–पटक भनेका छन्, “प्रहरीको जागिर मेरो सपना थियो, जसलाई म निःशुल्क पनि गर्न तयार थिएँ ।” बर्दीको अनुशासन र मेट्रोफ्लेक्स जिमको फलामसँगको हिमचिमले नै उनलाई शारीरिक सौष्ठवको नयाँ उचाइतर्फ दोहो¥यायो ।
रातभर प्रहरीको कठिन गस्ती, त्यसपछि सिधै जिममा घन्टौँको कठोर अभ्यास र भोलिपल्टै प्रतियोगिताका लागि उडान भर्ने उनको अकल्पनीय दैनिकीले नै उनलाई साधारण मानवबाट एक किंवदन्ती बनायो । सन् १९९८ देखि २००५ सम्म लगातार आठ पटक विश्वकै प्रतिष्ठित मिस्टर ओलम्पियाको उपाधि जितेर इतिहास रचेका उनले २६ भन्दा बढी पेशेवर प्रतियोगिताहरू जिते । जिमभित्र ८ सय पाउन्डको स्क्वाट र डेडलिफ्ट गर्दा उनले घन्काउने “या बडी” र “लाइटवेट बेबी” जस्ता गुञ्जायमान वाक्यहरू आज पनि संसारभरका फिटनेस प्रेमीहरूका लागि ऊर्जाका पर्याय हुन् । तर, हरेक महानताको पछाडि एउटा अदृश्य र भारी मूल्य लुकेको हुन्छ । शरीरको वास्तविक सीमाभन्दा माथि गएर वर्षौंसम्म उठाइएको अत्यधिक वजन, कठोर तालिम र अनवरत प्रतिस्पर्धात्मक दबाबले उनको शरीरलाई विस्तारै भित्रैबाट छिन्नभिन्न बनाउँदै लगेको थियो । आफ्ना हड्डी र मेरुदण्डलाई जोगाउन उनले १३ भन्दा बढी जटिल शल्यक्रियाहरू भोग्नुप¥यो । जसमा आठ वटा मेरुदण्ड (स्पाइन), तीन वटा गर्धन र दुई वटा कुलो (हिप) प्रतिस्थापन समावेश छन् । धातुका पाता र पेचहरूले जेलिएको उनको मेरुदण्डले आज उनलाई गतिहीन बनाएको छ । हिँड्ने क्षमता लगभग समाप्त भएपछि उनी आज ह्विलचेयर र वैशाखीको सहारामा सीमित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)