उद्यमशीलताको आधार कृषि
gorkhapatraonline.com · Tue Jun 09 01:56:41 GMT 2026

कृषिक्षेत्र नेपालको राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारस्तम्भका रूपमा स्थापित छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिक्षेत्रको योगदान २४.० प्रतिशत छ । करिब ६२.० प्रतिशत परिवारको मुख्य जीविकोपार्जनको आधार कृषि पेसा छ । देशको कुल जनसङ्ख्यामध्ये करिब ६७.० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष रूपमा कृषि परिवारमा आबद्ध रहेकाले कृषिक्षेत्रको सामाजिक तथा आर्थिक महत्वलाई स्पष्ट रूपमा उजागर गर्छ । कृषि उत्पादन, उत्पादकत्व तथा उद्यमशीलताको विस्तारले मात्र देशलाई आत्मनिर्भर र समुन्नत बनाउन सक्छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले कृषिक्षेत्रलाई प्राथमिकतासाथ समेट्ने प्रयास गरेको छ ।
सरकारले कृषिक्षेत्रलाई परम्परागत जीविकोपार्जनको माध्यमबाट सम्मानजनक तथा उद्यमशील पेसाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । कृषि उत्पादन वृद्धि, उत्पादन लागत न्यूनीकरण, आयात प्रतिस्थापन तथा खाद्यान्न आत्मनिर्भरताका लागि प्याकेजमा आधारित उत्पादन प्रणाली, यान्त्रिकीकरण, डिजिटल प्रविधि तथा ‘एग्रिटेक’ को प्रयोगलाई विशेष जोड दिई नीति तयार गरिएको छ । यसले कृषिक्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायमुखी बनाउन सहयोग पु¥याउने छ । हाल वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिक्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम अघि सारिएका छन् । कृषि उत्पादन, प्रशोधन उद्योग र बजार व्यवस्थापनलाई एकीकृत रूपमा जोड्ने, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै उत्पादनशील जनशक्तिलाई देशभित्रै उपयोग गर्ने अवसर प्रदान गर्ने छ । युवालक्षित यस्ता कार्यक्रमले कृषिक्षेत्रमा नयाँ प्रविधि र नवप्रवर्तन भित्र्याउनसमेत मद्दत गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)