विपतमा शव व्यवस्थापन
gorkhapatraonline.com · Tue Sep 01 03:15:38 GMT 2026

विपत्मा ज्यान गुमाई पहिचान गर्न नसकिएका शवको निर्विवाद, वैज्ञानिक र सम्मानजनक व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य हो । रसुवाको भोटेकोशी हिमबाढीमा परी ज्यान गुमाएका धेरै जनाको शव तत्काल सनाखत हुन सकेन । अहिले ती शवको वैज्ञानिक प्रमाण राखी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ । विपत्पछि यतिखेर सरकारले खोज र उद्धारसँगै शव व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । मृत मानव अङ्गलाई ‘बेवारिसे’ मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो । भोटेकोशी हुँदै त्रिशूली नदीमा यति ठुलो विध्वंसात्मक हिमबाढी आउला भनेर कल्पनासम्म पनि गरिएको थिएन । २०८३ भदौ १० गते बिहान आएको यो हिमबाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक जनधनको क्षति पुर्याएको छ । यस विपत्मा ठुलो सङ्ख्यामा भेटिएका शवमध्ये धेरै शव सग्लो अवस्थामा छैनन् । केही कुहिन थालेका छन् । ठुलो सङ्ख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन पनि सम्भव भएन । ती शव थप असुरक्षित हुने भएकाले कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापन गर्न थालिएको छ । व्यवस्थापन गर्दा प्रत्येक शवको तस्बिर, हुलिया, शरीरमा रहेका विशेष चिह्न, फरेन्सिक विवरण र डिएनए नमुना सुरक्षित राखिएको छ ।
अहिले शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन । भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न लागिएको हो । शव फेला परेको स्थान, अवस्था र छुट्टै कोड नम्बरसहित अभिलेख राखिने भएकाले बर्सौंपछि पनि आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी बुझाउन सकिने छ । यस्तो अभ्यास विभिन्न विकसित मुलुकमा पनि छ । त्यही अभ्यासलाई आधार मानी सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ जारी गरेको छ । सोही निर्देशिकाबमोजिम जिल्ला सुरक्षा समितिले निर्णय गरी यसरी शव व्यवस्थापन गर्न थालिएको हो । बाढीबाट ल्याइएका धेरै शव क्षतविक्षत र कुहिएको अवस्थामा रहेकाले पहिचान गर्न कठिन छ । शव लामो समयसम्म शीतभण्डारणमा राख्न पनि सम्भव हुँदैन । जमिनमुनि सुरक्षित रूपमा शवको व्यवस्थापन गर्ने अभ्यास वैज्ञानिक दृष्टिले पनि उचित मानिन्छ । चितवनको भरतपुर अस्पतालका फरेन्सिक विशेषज्ञ डा. सुरज शर्माका अनुसार पहिचानका लागि शरीरमा रहेका कोठी, टाटु जस्ता विशेष चिह्न पोस्टमार्टम प्रतिवेदनमा उल्लेख गरिएको छ । डिएनए परीक्षणका लागि सम्भव भएसम्म दाँत र त्यसो गर्न नसकिने अवस्थामा हड्डीको नमुना सङ्कलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)