आरन पेसा सङ्कटमा जीविकोपार्जनमा समस्या
gorkhapatraonline.com · Tue Sep 01 03:25:29 GMT 2026

पुख्र्यौली पेसा सङ्कटमा परेपछि आरन व्यवसाय चलाएर जीवन धान्ने दलित समुदायको जीविकोपार्जनमा समस्या भएको छ । सात वटा स्थानीय तहका बालीघरे प्रथाबाट जीविकोपार्जन गरेका उनीहरूको पेसा सङ्कटमा परेको हो । खेतीयोग्य जमिन नभएपछि आरन पेसाबाट जीवन निर्वाह गर्न कठिन हुँदै गएपछि उनीहरू समस्यामा परेका छन् । बिहान बेलुका तातो फलाम पिट्ने, दिउँसो ज्यालामजदुरी गरी बालीघरे प्रथाबाट चुलो बालेका उनीहरूलाई छाक जुटाउन निकै चुनौती बढेको छ । तीन पुस्ताअघिदेखि खेतीयोग्य जमिन नहुँदा आरन पेसालाई प्राथमिकता दिई आरन पेसाको भरमा छाकको गर्जो टारेका दलित समुदाय वैकल्पिक पेसा नभएपछि मर्कामा परेका छन् ।
भेरी नगरपालिका–१३ का कृष्णबहादुर विकले ३० वर्षदेखि बालीघरे प्रथाबाट छाक जुटाउन गाह्रो भएको बताउनुभयो । आरन पेसा सङ्कटमा परेपछि कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले सताउने गरेको उहाँले जनाउनुभयो । फलामका औजारहरू बनाएबापत अन्नबाली उठाउन बिष्टका घर घर पुग्ने गरेको उहाँको भनाइ छ । ६० वर्षको उमेरसम्म फलाम नपिटे खान नपाउने अवस्था आएको उहाँले बताउनुभयो । सरकारले पुख्र्यौली पेसा व्यवसायलाई सुधार नगरेका कारण बिस्तारै लोप हुन थालेको हो । आरन पेसाबाट राम्रोसँग जीविकोपार्जन नभएपछि नयाँ पुस्ताले यो पेसा छाड्दै गएका छन् । स्थानीय सरकारले आरन पेसालाई नयाँ सिप र उपकरण दिएर व्यावसायिक बनाउनुपर्ने पीडितको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)