कैदीबन्दीले गरे बाढीपीडितलाई सहयोग
gorkhapatraonline.com · Tue Sep 01 04:37:48 GMT 2026

बाँकेको नौबस्ता कारागारमा रहेका ४६६ जना कैदीबन्दीले रसुवा र नुवाकोटका बाढीपीडितको उद्धार तथा राहतका लागि ४९ हजार ५१० रुपियाँ सहयोग गरेका छन् । कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । विपत्को समयमा आफूहरू पनि प्रभावित नागरिकको पीडामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।
नौबस्ता कारागारका निमित्त प्रमुख ज्ञानबहादुर ओलीका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।उहाँका अनुसार रकम सङ्कलन गर्नुअघि बन्दीले बाढीमा परी ज्यान गुमाउनेप्रति सामूहिक रूपमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए । निमित्त प्रमुख ओलीले भन्नुभयो, “बन्दीले स्वैच्छिक रूपमा गरेको यो सहयोग मानवीय संवेदनाको उदाहरण हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)