गौंडा-गौंडामा बीना बर्दिमा छौँ, आचारसंहीता नछलौं, 'बिथोल्ने बाहेक अरू काममा निषेध छैन'
abhiyandaily.com
काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहीता उल्लंघनका घटना कम भएको दाबी गरेको छ ।
आयोगले निर्वाचन आचारसंहीतालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहीता उल्लंघनका घटना भएको बताएको हो ।
शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहीता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहीता उल्लंघन हुनसक्ने बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरू लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए ।
उनले निर्वाचन आचारसंहीतालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए । निर्वाचन आयोग निर्वाचन आचारसंहीता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए ।
उनले भने, ‘विगतको तुलनामा धेरै कम आचारसंहीता उल्लंघन भएको छ । आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नुहुन्छ, त्यो सबैले बुझेका छौँ । अहिले हामी स्थिर अवधिमा छौँ । स्थिर अवधिमा अझै कडाईका साथ लागू गर्नुपर्छ । किनभने यो बेलामा बढी भन्दा बढी आचारसंहीता उल्लंघन हुन्छ भनेर प्रतिनिधिहरुले भनिरहनुभएको छ । आयोग यो समयावधिमा गौंडागौंडामा बसेर हेरिरहेको छ । उहाँहरु बर्दीमा नहुनुहोला तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ । तर बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्नुहोला ।’
निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहीता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहीतामा कडाइ गरिरहेको बताए ।
उनले आयोगले आचारसंहीता कडाइबारे विभिन्न राजनीतिक दल र नेताहरूसँगको छलफलपछि नै निर्णय लिएको बताए । निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहीता लागू गरेको स्मरण गराए ।
आचारसंहीतामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सुसम्पन्न गर्न आयोग हरक्षण लागेको उनको भनाइ छ । आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहीता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने पनि उनले दाबी गरे ।
निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे । आम नागरिकहरुलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको उनको भनाइ छ ।
आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरेपनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरू छरपस्ट नरहेको बताए । उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको दाबी गरे ।
आयोगको कडाइका कारण नै दल र उम्मेदवारहरुले पनि आचारसंहीताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महशुस गरेको उनको भनाइ छ ।
निर्वाचन आयुक्त भण्डारीले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरुप बनाउने अधिकार कसैलाई नरहेको भन्दै स्वतन्त्र अभिव्यक्ति भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम गर्नु नुहने बताए ।
निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको स्वीकारे । आयोगले निर्वाचनका लागि कुल १२० दिन पाउनुपर्ने भएपनि यस पटकको निर्वाचनमा समेत सय दिनको हाराहारीमा मात्रै समय उपलब्ध भएको उनले बताए ।
निर्वाचन आयुक्त भण्डारीले मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनको लागि भने नयाँ कानूनको निर्माण गर्न अपरिहार्य रहेको भनाइ राखे । उनले मतदाता शिक्षा प्रभावकारी बनाउने कुरामा निर्वाचन आयोगले लोभ नगरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)