रुखबाट लडेका घाइतेको उद्धार
annapurnapost.com · Tue Aug 18 13:05:57 GMT 2026

गोरखा : रुखबाट लडेकी उत्तरी गोरखाकी एक महिलालाई उद्धार गरी काठमाडौं लगिएको छ । घाँस काट्न रुख चढ्दा लडेर गम्भीर घाइते भएकी धार्चे गाउँपालिका-२ केरौंजाकी ५५ वर्षीया कान्छी गुरुङलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको स्थानीय अर्जुन गुरुङले जानकारी दिए ।
घाँस काट्ने क्रममा रुखबाट लडेकी उनको टाउकोमा गम्भीर चोट लागेको गुरुङले बताए । ‘मान्छे टाउकोमा चोट लागेर घाइते भएको छ । यो झरीमा पहिरोले सडक ठाउँठाउँमा अवरुद्ध भएर केरौंजाबाट गाउँपालिकाको केन्द्र माछाखोलासम्म एम्बुलेन्स लैजान पनि सकिएन’, गुरुङले भने, ‘अनि माछाखोलाबाट आरुघाट, गोरखा बजार अथवा काठमाडौं लैजान सडक अवरुद्ध भएर एम्बुलेन्स पनि नचल्ने भएकाले हेलिकोप्टरबाट उद्धार गरिएको हो ।’ आर्थिक अवस्था ज्यादै कमजोर भएपनि २ लाख ३५ हजार खर्चेर हेलिकोप्टर चार्टर गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)