जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह
khabarhub.com · Tue Sep 01 15:00:37 GMT 2026

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”
प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरेका छन् । “हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ,” उनले भनेका छन्, “हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ । हिउँ चट्टान किन खस्यो ? यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)