कसरतको प्रतिफल कि औषधिको चमत्कार ?
newsofnepal.com · Wed Aug 19 16:44:26 GMT 2026

वर्षौँसम्म टेनिस कोर्टमा आफनो बेजोड शक्ति र अदम्य साहसले विश्वलाई मन्त्रमुग्ध पारेकी अमेरिकी खेलाडी सेरेना विलियम्सले हालै एउटा यस्तो साँचो र चकित पार्ने खुलासा गरेकी छन, जसले सम्पूर्ण खेल जगत्लाई नै स्तब्ध बनाएको छ । सन्तान जन्मिएपछि दिनको आठ–आठ घण्टा जिममा पसिना बगाउँदा र कडा अनुशासनमा बस्दा पनि घट्न नसकेको तौल अन्ततः ‘टिरजेपाटाइड’ नामक जीएलपी–१ समूहको आधुनिक औषधिको सहाराले घट्यो । यसले उनको तौल मात्र घटाएन, जोर्नीको असह्य दुखाइ मेटायो, कोलेस्ट्रोल सन्तुलनमा ल्यायो र कोर्टमा उनलाई फेरि उही पुरानै लचकता र गति प्रदान ग¥यो । तर, एउटा आमाको रूपमा आफ्नो शरीर पुनः प्राप्त गर्ने उनको यो भावनात्मक र सत्य कथाले अहिले खेलकुदको मञ्चमा भने एउटा गम्भीर, नैतिक र संवेदनाले भरिएको तुफान खडा गरिदिएको छ । के विज्ञानको यो वरदान खेलाडीका लागि नयाँ जीवन हो वा जित हासिल गर्ने एउटा अदृश्य छल ?
आज विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) ले यस औषधिलाई प्रतिबन्धित सूचीमा नराखेर निगरानीमा मात्र राखेको भए पनि बक्सिङ, कुस्ती वा मार्सल आर्टजस्ता तौलका आधारमा वर्ग छुट्ट्याइने खेलहरूमा यसको प्रयोगले ठूलो उथलपुथल ल्याउन सक्छ । जब एउटा खेलाडीले महिनौँसम्म भोकै बसेर, पसिनाको अन्तिम थोपासम्म बगाएर घटाउने तौल अर्को प्रतिस्पर्धीले केही हप्तामै सुईको माध्यमबाट घटाउँछ, तब मिहिनेत र समर्पणको परिभाषामाथि नै प्रश्न उठ्छ । यसबाहेक, यो औषधिले शरीरको सुन्निने क्रम घटाउने र मुटुको कार्यक्षमतामा सुधार ल्याउने भएकाले यसले अप्रत्यक्ष रूपमा खेल प्रदर्शन बढाउने सामथ्र्य राख्छ । तर, सिक्काको अर्को पाटो कहालीलाग्दो छ । यसले भोक मारेर शरीरका लागि आवश्यक क्यालोरी र अमूल्य मांसपेशी क्षय गराउन सक्छ, जसले गर्दा खेलाडीको प्राकृतिक शक्ति नै समाप्त हुने जोखिम रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)