न्यूनतम यात्रु नभएपछि कतिपय विमानस्थल नियमित सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री [भिडियो]
hamrakura.com · Wed Jul 01 00:00:00 GMT 2026
काठमाडौँ । पर्यटनमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु सङ्ख्याको अभावका कारण देशका सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टीकरण दिएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू लामो समयदेखि बन्द रहेको भन्दै प्रश्न गरेपछि जवाफ दिने क्रममा मन्त्री पौडेलले यात्रु नै नहुने क्षेत्रमा विमानस्थल सञ्चालन गर्न नसकिएको स्पष्ट पारेका हुन्। उनले विमानस्थल सञ्चालनका लागि सरकारसँग प्राविधिक जनशक्ति र आवश्यक उपकरणको कुनै अभाव नरहेको दाबी समेत गरे।
नेपालमा कुल ५५ वटा विमानस्थलहरू रहेकोमा हाल ३४ वटा मात्रै सञ्चालन योग्य रहेको र २१ वटा विमानस्थल ठप्प रहेको मन्त्री पौडेलले जानकारी दिए। अधिकांश पहाडी क्षेत्रका विमानस्थलहरू बन्द हुनुको मुख्य कारण तीव्र बसाइँसराइ र गाउँगाउँमा सडक सञ्जालको बिस्तार हुनु रहेको उनको भनाइ थियो। हवाई भाडाको तुलनामा सडक यातायात सस्तो र सहज बन्दै गएकाले पनि हवाई यात्रुको सङ्ख्या घटेको प्रतिवेदनहरूले देखाएको उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)