त्रिपालमुनि बास छैन खाने गाँस
gorkhapatraonline.com · Sun Aug 23 00:50:30 GMT 2026

बाजुराका दुई सयभन्दा बढी बाढीपहिरोपीडित अहिले त्रिपालमुनि बास बस्न बाध्य छन् । यहाँका गाउँबस्ती प्रायः भिरालो तथा पाखो जमिनमा रहेकाले ती बस्तीका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।
गत जेठ १२ गते बुढीनन्दा नगरपालिका–१, जङ्गसाल, भारती र कोसाडी गाउँमा आएको पहिरोले यहाँका चार घर पूर्ण क्षति तथा अन्य सयभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । अझै यहाँका केही घरपरिवार त्रिपालमा बास बस्दै आएका छन् । पहिरोले घरसहित अन्य लत्ताकपडासमेत पुरिदिएपछि अहिले उनीहरूलाई बस्ने बाससँगै खाने गाँसको समेत अभाव भएको हो । त्यस्तै गत साउन ८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले बढीमालिका–९, सेलाघाटका १३ घरमा क्षति पुगेपछि उनीहरू पनि त्रिपालमा बास बस्न थालेका छन् । गत साउन २८ गते राति त्रिवेणी–९, ताम्सुको गाउँमाथिबाट आएको पहिरोले क्षति पु¥याएपछि त्यहाँका ९६ घरपरिवार यतिबेला त्रिपालमुनि बस्दै आएका छन् । तीमध्ये दुई परिवारको न खाने गाँस छ न बस्ने बास । दुई दिनका लागि पालिकाले केही सहयोग गरे पनि उनीहरूलाई कहाँ बस्ने के खाने भन्ने चिन्ता भएको यहाँका बाढीपहिरोपीडित बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)