दलभन्दा माथि राष्ट्र
gorkhapatraonline.com · Sun Aug 23 02:34:45 GMT 2026

राष्ट्रको अस्तित्व कुनै दल, व्यक्ति वा सरकारभन्दा धेरै ठुलो र स्थायी हुन्छ । राजनीतिक दल लोकतन्त्रका आधारस्तम्भ हुन् तर राष्ट्र लोकतन्त्रको आधार हो । दलहरू आउँछन्, जान्छन्, विभाजित हुन्छन्, एकीकृत हुन्छन् र समयसँगै परिवर्तन हुन्छन् तर राष्ट्रको अस्तित्व, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान स्थायी रहनु पर्छ । यही सत्यलाई हृदयङ्गम गर्न नसक्दा समाजमा विभाजन बढ्छ । लोकतन्त्र कमजोर बन्छ र राष्ट्रको भविष्य नै सङ्कटमा पर्न सक्छ । त्यसैले आजको सबैभन्दा ठुलो आवश्यकता दलभन्दा माथि राष्ट्रलाई राख्ने राजनीतिक संस्कार र नागरिक चेतना हो ।
नेपालको इतिहास त्याग, बलिदान र राष्ट्रिय स्वाभिमानको इतिहास हो । पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि राणाशासनविरुद्धको आन्दोलन, प्रजातन्त्रको स्थापना, पञ्चायतविरुद्धको सङ्घर्ष, जनआन्दोलन र गणतन्त्रसम्म आइपुग्दा हजारौँ नेपालीले आफ्नो जीवन राष्ट्रका लागि समर्पण गरेका छन् । उनीहरूको सपना कुनै एक दललाई सधैँ सत्तामा पु¥याउनु थिएन । उनीहरूको चाहना स्वतन्त्र, न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माण गर्नु थियो । त्यसैले आज हामीले राजनीतिक उपलब्धिलाई दलगत स्वार्थको चस्माबाट होइन, राष्ट्रिय हितको दृष्टिकोणबाट मूल्याङ्कन गर्नु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)