मेलालाई लक्षित गर्दै सुचारु गरियो रसुवाको पार्वतीकुण्ड जाने सडक
annapurnapost.com · Sun Aug 23 09:21:07 GMT 2026

रसुवा : जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वतीकुण्डमा लाग्ने मेलालाई लक्षित गर्दै सडक सुचारु गरिएको छ। रोङ्गाखालादेखि गतलाङगाउँ र पार्वतीकुण्डसम्म विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएको आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताइन्।
‘पार्वतीकुण्ड पुग्ने एउटा बाटो खुल्ला छ, अर्को पनि आज दिनभरमा खुलाउने गरी स्क्याभेटर लगाइएको छ’ उपाध्यक्ष तामाङले भनिन्। पहिरोले रोंगा–केराबारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो। अवरुद्ध सडक सुचारु भएर भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीलाई सहज हुने भएको छ। थाम्बुचेत–गत्लाङ र थाम्बुचेत–गोल्जुङ–चौहत्तर हुँदै दुवै सडकमार्गबाट पार्वतीकुण्ड पुग्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)